Educational Content
भानु जयन्ती: नेपाली भाषाका ढुकढुकी आदिकवि भानुभक्त आचार्य
2025-07-13
0 minutes पढाइ
लाइक्स
भानु जयन्ती: नेपाली भाषाका ढुकढुकी आदिकवि भानुभक्त आचार्य वि.सं. १८७१ मा हालको तनहुँ जिल्लाको चुम्दी रम्घामा जन्मिएका भानुभक्त आचार्य एक हुनेखाने ब्राह्मण परिवारमा हुर्किए। धार्मिक र सांस्कृतिक अनुशासनमा पलाएका उनी नेपाली भाषाका आदिकवि बने
- त्यही समयमा जसलाई “खस” भाषा भनिन्थ्यो, जुन लिपिबद्धभन्दा सामान्य वार्तालापमा सीमित थियो। संस्कृतजस्तो कठिन भाषामा मात्र साहित्य हुने समयमै भानुभक्तले रामायणजस्तो ग्रन्थलाई नेपालीमा रूपान्तरण गरी भाव, छन्द र लयको संयोजनमा जनसाधारणसम्म पुर्याए। उनले केवल अनुवाद गरेनन्, बरु नेपाली भावनामा रंगिएर सरल र सजीव काव्य बनाए। बालकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड लगायतका प्रसङ्गहरूले मनोरञ्जनसँगै नैतिक, सामाजिक र चारित्रिक शिक्षा दिए। भानुभक्तको कवितामा समाज र व्यवहारको सङ्गम पाइन्छ। त्यही लय अझै आजका कविहरूले पनि अपनाउँछन्। उनका रचनाहरूले आजको दोहोरी र लोकगीत संस्कृतिको जग नै बनाएको हो। गाउँमा रामायण वाचन गरिने, छन्द कण्ठ गरिने चलनले नेपाली जनजीवनमा सांस्कृतिक अभ्यासको परम्परा बसायो। भानुभक्तको जीवनको मोडदिने प्रेरणा एक सामान्य घाँसीबाट आयो। घाँस बेचेर कमाएको पैसाले समाजका लागि कुवा खनेको देख्दा आफूले समाजका लागि केही नगरेको महसुस गरेर भानुभक्त लज्जित भए र साहित्यिक कर्तव्यमा लागे। घाँसी कविता अझै जनमानसको जिब्रोमा जीवित छ
- "भर जन्म घाँस तिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो..." भानु भक्तको घाँसी कविता जस्ताको तस्तै भर जन्म घाँस तिर मन दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति यो प्रेरणाले उनले शब्दमार्फत समाजमा अमिट योगदान गरे। मोतीराम भट्टजस्ता युगकविले भानुभक्तको जीवन, योगदान र कृतिहरू अनुसन्धान गरी वि.सं. १९४१ मा प्रकाशित गरेपछि उनी अझ व्यापक रूपमा जनचेतनामा प्रवेश गरे। भानुभक्तका केही कृतीहरू मोतीरामकै हुन् भन्ने विवाद पनि उठ्यो, तर यो भानुभक्तप्रति अन्याय ठहरिन्छ। भारतमा उर्दु, फारसीजस्ता भाषा जान्ने मोतीरामले नेपाली भाषा र भानुभक्तमा देखाएको समर्पण उल्लेखनीय छ। आज भानु जयन्ती भारतको दार्जिलिङदेखि विश्वभरका नेपाली समुदायमा श्रद्धा, पर्व र परम्पराको रूपमा मनाइन्छ। भानुभक्तको आलोचना गर्नेहरू पनि थिए, तर छन्द, लय र भावलाई संरक्षण गर्दै जनमुखी साहित्य सिर्जना गर्नु उनको वास्तविक पहिचान हो। भानुभक्तको प्रसङ्गमा तनहुँमा चल्ने एउटा लोकप्रिय कथा अनुसार, उनले जग्गा विवादपछि 'भाट' शब्दप्रति दुखी भई आफ्नै घरबाट बाँसका भाटाहरू हटाएका थिए। यसले देखाउँछ कि उनी शब्द र सम्मानका कति संवेदनशील थिए। उनले भाषा मोह सिखाए
- "गाई" पहिले बुझ्नुपर्ने, अनि मात्र "काउ" को अर्थ बुझिने सोचलाई जोड दिए। यही सन्देश दिन्छ कि भानुभक्त विकल्प होइनन्, उनी नै हाम्रो भाषिक अस्तित्वका आधार हुन्। नेपाली भाषाको अध्ययन, अनुसन्धान र प्रवर्द्धन नै भानुभक्तप्रति सच्चा श्रद्धाञ्जलि हो। अंग्रेजी कविता मुखाग्र हुने पुस्ताले पहिले भानुभक्त बुझ्नुपर्छ। कालो टोपी लगाएका भानुभक्तको छवि, लय र योगदान नेपाली जनमनमा सधैं अमर रहोस्
- अमर रहून् भानुभक्त र उनका शब्दहरू।
साझा गर्नुहोस्:
सम्बन्धित लेखहरू
सम्बन्धित लेखहरू फेला परेनन्।